सिटरोल दर्ता कहिले सम्ममा गर्नुपर्छ ?

स्थायी नियुक्ती भएको ३० दिन भित्र निजामती किताबखानामा दर्ता गर्नुपर्छ ।

सिटरोल दर्ता गर्न चाहिने महत्वपुर्ण कागजात के–के हुन ?

१. कार्यालय प्रमुखबाट प्रमाणित सिटरोल ५ प्रति (न्यायाधिसहरु तथा संसद सेवाको लागि २ प्रति),
२. सक्कल स्थायी नियुक्तिपत्र/पदस्थापना पत्र,
३. कार्यालय प्रमुख वा कम्तिमा रा.प.तृतीय स्तर अधिकृत वा नोटरी पब्लिकबाट प्रमाणित निम्न कागजातहरुः

  • नेपाली नागरिकताको प्रमाणपत्र,
  • लोक सेवाको सिफारिसपत्र,
  • सपथग्रहण,
  • निरोगिता,
  • पदसँग सम्बन्धित सबै तहका शैक्षिक योग्यताका प्रमाणपत्रहरु,
  • सम्बन्धित निकायबाट प्राप्त व्यवसायिक प्रमाणपत्र,

४. नागरिकता भन्दा फरक स्थायी ठेगाना सिटरोलमा उल्लेख गरेकोमा बसाई सराई प्रमाणपत्र वा महिलाको हकमा विवाह दर्ता प्रमाणपत्र,
५. प्रमाणपत्रहरुमा नाम, थर, ठेगाना र जन्ममिति फरक परेमा सम्बन्धित स्थानीय निकायको वा जिल्ला प्रशासन कार्यालयको सिफारिशपत्र,
६. कुनै देशको स्थायी आवासीय अनुमती पत्र (DV/PR) लिए/नलिएको पत्र,
७. शुरु हाजिरी जानकारीपत्र,
८. सिटरोल दर्ता गरिदिने अनुरोधपत्र,
९. म्याद नाघी एक आर्थिक वर्षभन्दा ढिलो सिटरोल दर्ता गर्दा चाहिने थप कागजातहरुः

  • सम्पति विवरण जरीवाना वापत रु.५००० तिरेको सक्कलै बैक भौचर,
  • कार्यालयबाट प्रमाणित निजामती किताबखानाले तयार गरेको सनाखतपत्र,
  • तलब भत्ता रोक्का राखे नराखेको र स्थायी नियुक्तिदेखि हालसम्म सेवा अटुट भएरनभएको खुलेको पत्र,
  • सेवा अवधिभर औषधि उपचार, अध्ययन, असाधारण बिदा लिएरनलिएको जानकारी पत्र,
  • सेवा अवधिभर गयकट्टी, विभागिय कारवाही भए/नभएको विवरण,
  • पदस्थापन, स्तरवृद्धि, सरुवा, बढुवा र अन्य सेवाकालिन कागजातहरु ।
सिटरोलको साथमा कति सेट कागजात आवश्यक पर्छ ?

१ सेट मात्र ।

सिटरोल दर्ता भएको/ नभएको कसरी थाहा पाउन सकिन्छ ?

मोवाईल नम्बर उपलब्ध गराइएको खण्डमा संकेत नम्बर सहित SMS आउछ ।

कर्मचारी संकेत नम्बर किन आवश्यक पर्छ ?

(क) स्थायी कर्मचारी भएको अभिलेख ब्यवस्थित तरिकाले राख्न,
(ख) सम्पत्ति विवरण समय मै बुझाउन,
(ग) विमा कर्मचारी सञ्चयकोष कार्ड र अस्पताल सहुलियत कार्ड दर्ता गर्न,
(घ) PIS अभिलेख अद्यावधिक गर्न,
(ङ) औषधी उपचार रकम लिन,
(च) सेवा अवकास पश्चात सुविधा लिन ।

सम्पत्ति विवरण फाराममा विवरण पेश गरेको निकायको नाममा के लेख्ने ? आ.व. कुन लेख्ने ?

निजामती किताबखाना, हरिहरभवन, ललितपुर । जुन आर्थिक वर्षमा सम्पत्ति विवरण बुझाउन लागिएको हो सो भन्दा अघिल्लो आर्थिक वर्ष उल्लेख गर्ने (बहालवाला कर्मचारीको हकमा) । नयाँ नियुक्ति हुने कर्मचारीले नियुक्त भएको मितिले ६० दिनभित्र बुझाउनु पर्ने (जुन चालू आर्थिक वर्षको पनि हुन सक्छ वाअघिल्लो आ.व.को पनि हुन सक्छ) । उदाहरणको लागि– २०७३ सालको श्रावणदेखि भाद्र २८ गतेसम्म सम्पत्ति विवरण बुझाउन आउँदा खाम बाहिर “आ.व. २०७२/७३ को सम्पत्ति विवरण” भनी उल्लेखगर्नु पर्ने अर्थात आ.व. २०७२/७३ को सम्पत्ति विवरण बुझाउनु पर्ने ।

आ.व. २०७३/७४ मा कुन आ.व. को बुझाउने ?

आ.व. २०७२/७३

कुन साईजको खाममा सम्पत्ति विवरण बुझाउने पर्ने हो ?

९"X४" को साइज

सम्पत्ति विवरण कहिलेसम्म बुझाउन सकिन्छ ?

नयाँ आ.व. शुरु भएको पहिलो दिनदेखि ६० दिनभित्रमा र नयाँ नियुक्ति भएको ६० दिनभित्र बुझाउन सकिन्छ ।

नयाँ नियुक्ति भएको ६० दिनभित्र सम्पत्ति विवरण नबुझाएमा के हुन्छ ?

निजामती सेवा नियमावली बमोजिम ६० दिनभित्र सम्पत्ति विवरण नबुझाएका कर्मचारीहरुको बार्षिक विवरण माग भए बमोजिम राष्ट्रिय सतर्कता केन्द्रमा पुगेपछि कारबाहीको प्रक्रिया सोही निकाय मार्फत हुन्छ ।

जरिवाना कहाँ र कुन राजश्व शीर्षकमा बुझाउने ?

सरकारी राजश्व संकलन गर्न तोकिएको बैंकमा राजश्व शीर्षक नम्बर १४३१२ मा बुझाउने ।

कोड नम्बर भनेको के हो ?

कोड नम्वर भनेको आफू कार्यरत कार्यालयको कोड नम्बर ।

समयमा नै हुलाक मार्फत सम्पत्ति विवरण पठाइएको तर तोकिएको म्यादपछि मात्र विवरण प्राप्त भयो भने जरिवानाबाट जोगिन सकिन्छ वा सकिदैन ?

सकिदैन ।

अध्ययन विदा, असाधारण विदा, निलम्बन, काज र लामो विरामी बिदा बसेकाले पनि सम्पत्ति विवरण बुझाउनु पर्छ ?

विद्यमान ऐन नियमहरुमा सार्वजनिक पद धारण गरेको सबैले तोकिएको म्यादभित्र सम्पत्ति विवरण बुझाउनु पर्छ भन्ने व्यवस्था भएकोले निलम्बन, काज र बिदामा बसेतापनि सार्वजनिक पद धारण गरिरहेकै अवस्था हुने भएकोले सम्पत्ति विवरण बुझाउनु पर्छ ।

सम्पत्ति विवरण फारम कहाँबाट प्राप्त गर्न सकिन्छ ?

सम्पत्ति विवरण फारम डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्

तलवी प्रतिवेदन कहाँ पारित गरिन्छ ?

काठमाण्डौ उपत्यकाको हकमा निजामती किताबखाना र अन्यको हकमा सम्बन्धित जिल्लाको को.ले.नि.का. मा ।

तलवी प्रतिवेदन कहिले सम्म पारित गरिसक्नु पर्छ ?

प्रत्येक वर्ष भाद्र मसान्त सम्ममा ।

तलवी प्रतिवेदन पारित गर्न के अनिवार्य चाहिन्छ ?

कर्मचारी संकेत नम्बर अनिवार्य चाहिन्छ ।

तलबी प्रतिवेदन पारित नगरी तलब खुवाएमा के हुन्छ ?

जिम्मेवार पदाधिकारीहरूबाट खुवाएको तलव सरकारी बाँकी सरह असुल उपर हुन्छ ।

तलवी प्रतिवेदन पारित गर्ने दायित्व कसको हो ?

सम्बन्धित कार्यालय प्रमुख र लेखा प्रमुखको ।

तलवी प्रतिवेदन पारित गर्न आवश्यक कागजात के के हुन् ?

(क) कार्यालय प्रमुखबाट प्रमाणित अनुसुची ५ बमोजिमको तलबी प्रतिवेदन फाराम थान – २ ।
(ख) गत आ.ब.को पारित तलबी प्रतिवेदन फाराम थान – १ ।
(ग) सरुवा/बढुवा भै अन्यत्रबाट रमाना लिर्इ आउने कर्मचारीको तलबी प्रतिवेदन फाराम थान-१, सरुवा, बढुवा र रमानापत्र ।
(घ) निजामती किताबखानामा PIS अभिलेख पूर्ण नभएका कर्मचारीहरुको हकमा सरुवा, बढुवा, स्तर वृद्धि रमाना, गयकट्टी र विभागीय कारवाही लगायतका अन्य कागजातहरु ।
(ङ) निजामती किताबखानाबाट स्वीकृत दरबन्दि तेरीज ।
(च) तलबी प्रतिवेदन पारित गर्ने कार्यालयको अनुरोध पत्र ।
(छ) यस विभागबाट तलबी प्रतिवेदन पारीत हुन कर्मचारी संकेत नं. अनिवार्य लिएको हुनुपर्ने ।

कस्तो कर्मचारीको तलवी प्रतिवेदन पारितको लागि योग्य हुन्छ ?

निजामती किताबखानाको PIS विवरणमा सरुवा, वढुवा, स्तरवृद्धि, सम्मान जस्ता सबै विवरण अद्यावधिक भएको कार्यरत कर्मचारीको ।

कार्यालयको पद दर्ता गर्न पेश गर्नुपर्ने आवश्यक कागजातहरु के के हुन् ?

(क) पद सृजना/थप गरिएको वा खारेज/घटाइएको अर्थ मन्त्रालयको सहमति पत्रको प्रतिलिपि ।
(ख) सामान्य प्रशासन मन्त्रालयबाट दिइएको स्वीकृति वा सहमती पत्र ।
(ग) सामान्य प्रशासन मन्त्रालयबाट मन्त्रिपरिषदमा प्रस्ताव पेश गरेको पत्रको प्रतिलिपि ।
(घ) प्रस्तावित संगठन संरचना एवं दरवन्दी तेरिजको अनुसूची एक/एक प्रति ।
(ङ) नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णयको प्रतिलिपि ।
(च) सम्वन्धित मन्त्रालयबाट पद दर्ता गर्ने सम्बन्धमा निजामती कितावखानालाई लेखिएको अनुरोध पत्र ।
(छ) रीतपूर्वक भरी प्रमाणित गरिएको पद दर्ता फाराम – ४ ।
(ज) निजामती कितावखानाबाट साविकमा प्रमाणित दरवन्दी तेरिज ।
(झ) निजामती सेवा ऐन २०४९ को दफा २४(घ)१ बमोजिम बढुवा भई समायोजन भएका पदहरुको हकमा सामान्य प्रशासन मन्त्रालयको दरबन्दी स्वीकृति पत्र र अनुसूची १ र ३ प्रमाणित फाराम समेत राख्नुपर्ने ।

निवृत्तभरण अधिकारपत्र (पेन्सन पट्टा) तथा उपदानको लागि आवश्यक कागजातहरु के के हुन् ?

(क) राजिनामा वा अनिवार्य अवकाश पत्र ।
(ख) कार्यालयको तर्फबाट निजामती किताबखानालाई लेखिएको किटानी सिफारिस पत्र ।
(ग) औषधी उपचार खर्च रकम लिए/नलिएको विवरण/जानकारी पत्र ।
(घ) गयल कट्टी/विभागीय कार्वाही भए/नभएको जानकारी पत्र ।
(ङ) अध्ययन र असाधारण बिदा (तलबी वा बेतलबी) को विवरण ।
(च) सेवा प्रवेश पूर्व प्राप्त गरेका जन्ममिति खुलेको प्रमाणपत्रहरु (नागरिकता, शैक्षिक योग्यता) को प्रतिलिपि ।
(छ) अदालतको आदेश/निर्णय/फैसलाबाट सेवामा पुनस्थापित भएको भएमा फैसलाको पूर्ण कागजात र निर्णय कार्यान्वयनका लागि लेखिएको पत्रको प्रतिलिपि ।
(ज) अनुसुची १०२ बमोजिम रीतपूर्वक भरेको निवृत्तभरण माग फारम ।
(झ) सम्बन्धित सेवा निवृत्त कर्मचारीको ७ वटा र इच्छाइएको व्यक्तिको हकमा ५ वटा पासपोर्ट साइजको हालसालै खिचेको फोटोहरु ।
पुनश्चः उल्लेखित कागजातहरुको सक्कल प्रति सम्बन्धित ब्यक्तिले साथमै लिई आउनुपर्नेछ ।

पारिवारिक निवृत्तभरण अधिकारपत्र (पेन्सन पट्टा) को लागि आवश्यक कागजातहरु के के हुन ?

(क) मृत्तक कर्मचारीको मृत्यु खाली जनाई दिन सम्बन्धित कार्यालयको किटानी शिफारिस पत्र ।
(ख) पारिवारिक वृत्ति/असाधारण वृत्ति/शैक्षिक तथा सन्तती वृत्ति पाउने भए बनाईदिन सम्बन्धित कार्यालयको किटानी सिफारिश पत्र ।
(ग) मृत्युदर्ता प्रमाणपत्रको प्रतिलिपि ।
(घ) प्रत्येक हकवालाको पासपोर्ट साइजको ४/४ प्रति फोटोहरु ।
(ङ) नाता प्रमाणित र गा.वि.स.को किटानी सिफरिश पत्र ।
(च) मृत्तक कर्मचारीको नागरिकता र सेवा प्रवेश पूर्वका शैक्षिक योग्यताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।
(छ) सन्तती तथा शैक्षिक वृत्तिको हकमा १८ वर्ष नपुगेका २ जना सन्ततीको नागरिकताको प्रमाणपत्र वा जन्मदर्ता प्रमाणपत्र ।
(ज) सरकारी कामको शिलशिलामा मृत्यु भएकाको हकमा नि.से.नि २०५० को नियम १०० बमोजिमको समितिको निर्णय र सम्बन्धीत मन्त्रालयको सचिवस्तरीय निर्णय सहितको सिफारिश पत्र ।
(झ) पारिवारिक निवृत्तभरण अधिकारपत्र (पेन्सन पट्टा) मा हकवालाहरु धेरै भएमा हकवालाहरुको संयुक्त निवेदन र एकभन्दा बदी हकवाला भएमा अशक्त्त वा अनुपस्थितको मन्जुरीनामा भएमा उक्त मन्जुरीनामा सम्बन्धित कार्यालयबाट प्रमाणित भएको हुनुपर्ने ।
(ञ) बेपत्ता भएको कर्मचारीको हकमा बेपत्ता भएको मितिले २ वर्ष पुरा भई बेपत्ता भएको प्रमाणित सिफारिश पत्र सम्बन्धित कार्यालय र जिल्ला प्रशासन/स्थानीय निकायको सिफारिश पत्रहरु ।
(ट) असाधारण बिदा, गयल कट्टी, विभागीय कारवाही भए÷नभएको तथा औषधोपचार लिए/नलिएको सम्बन्धित कार्यालयको पत्र ।
(ठ) वैयक्तिक विवरण (सिटरोल) मा इच्छाएको व्यक्ति र पारिवारिक निवृत्तभरण माग गर्ने व्यक्तिको नाम फरक परेकोमा इच्छाइएको व्यक्ति जिवित भएमा कार्यालयबाट प्रमाणित मन्जुरीनामा र मृत्यु भएकोमा मृत्यु दर्ता प्रमाण पत्र, नाता प्रमाणित पत्र, स्थानीय निकाय÷जिल्ला प्रशासन कार्यालयबाट सिफारिश पत्र ।
(ड) पारिवारिक निवृत्तभरण रीतपूर्वक भरेको माग फारम ।
(ढ) कसैलाई पनि सिटरोलमा ईच्छाएको रहेनछ भने नि.से.नि.को नियम १०१ बमोजिम तोकिएका परिवारका सदस्यहरुलाई प्रचलित कानून बमोजिम क्रमशः प्राथमिकतानुसार पारिवारिक निवृत्तभरण उपलब्ध हुनेछ ।
पुनश्चः उल्लेखित कागजातहरुको सक्कल प्रति सम्बन्धित ब्यक्तिले साथमै लिई आउनुपर्नेछ ।

इच्छाईएको ब्यक्तिले पाउने पारिवारिक निबृत्तभरणको अवधि कति हुन्छ ?

श्रीमान वा श्रीमतीलाई इच्छाएमा इच्छाउने ब्यक्तिको शेषपछि इच्छाईएको ब्यक्त्तिले पेन्सन पाउन थालेको सात बर्ष भित्रै मृत्यु भएको भए सात बर्ष सम्म पुरै र सात बर्ष पछि निजले खाईपाई आएको आधा रकम बाचुञ्जेल पाउने । श्रीमान वा श्रीमती बाहेक परिबारका अन्य सदस्यहरुलाई इच्छाएको रहेछ भने पेन्सन पाउन थालेको सात बर्ष सम्म मात्र मृतक कर्मचारीले जीवीत हुँदा पाए सरह पारिबारिक निबृत्तभरण पाउने । तर इच्छाईएको ब्यक्ति नावालक रहेको खण्डमा १८ बर्ष उमेर नपुगेसम्म मृतक कर्मचारीले जीवीत हुँदा पाए सरह पारिबारिक निबृत्तभरण पाउने ।

तलब बृद्धि हुँदाका बखत पारिवारिक निबृत्तभरणमा दुई तिहाई बृद्धि हुन्छ की हुदैन ?

हुन्छ ।

राजीनामा वा स्वेच्छीक अवकाश लिँदा प्राप्त हुने सुबिधामा अन्तर के छ ?

३० बर्ष सेवा अवधि पुगेमा सेवा सुबिधामा कुनै अन्तर नहुेने तर निजामती सेवा ऐन, २०४९ को दफा ३७ को उप दफा ३ बमोजिम तथा स्वास्थ्य सेवा ऐन, २०५३ को ८६.ख अनुसारको सुविधा समेत पाउने गरी सुबिधा उपलब्ध गराईदिन सिफारिस चाहिने ।

१५ बर्ष सम्म एउटै पदमा रहेको ब्यक्तिले राजीनामा दिएमा एक तह बढुवा पाउछ की पाउदैन ?

निजामती सेवा ऐन, २०४९ को दफा २०.क बमोजिम अबकाश हुन एक महिना बाँकी भएमा बढुवा हुने तर राजीनामा दिएमा समेत बढुवा पाउने स्पष्ट कानुनी ब्यबस्था नभएता पनि बढुवा दिईने प्रचलन रहेको ।

पहिले गरेको सेवा अवधि जोडिन्छ ?

निजामती सेवाको एक पदबाट राजीनामा दिई अर्को पदमा नियुक्ति भएमा पहिलेको सेवा अवधि नजोडिने ।

मेरो पेन्सन कति आउछ र अवकास हुँदा के कति रकम आउछ ?

निजामती किताबखानाको मोबाईल एप CSOP google paly store बाट डाउनलोड गरी आफै एकिन गर्न सकिने ।

मेरो जन्ममिति नागरिकता, सिटरोल र शैक्षिक योग्यतामा फरक फरक छ कुन कायम हुन्छ ?

स्वास्थ्य सेवाको हकमा शैक्षिक योग्यतामा उल्लेखित जन्ममिति नै कायम हुन्छ भने अन्य सेवाको हकमा एक बर्ष भित्रकै जन्ममिति भएमा बर्ष महिना र दिन खुलेको जन्ममिति कायम हुन्छ । तर फरक फरक प्रमाण पत्रहरुमा फरक फरक जन्ममिति उल्लेख गरेको भएमा बर्ष मात्र उल्लेख भएको प्रमाणपत्र भए जारी गरिएको मितिको आधारमा प्रमाणपत्रहरु बीचको अन्तर एक बर्ष भन्दा बढी रहेछ भने जुन प्रमाण पत्रबाट पहिले अवकाश हुन्छ सोही अनुसार अवकाश गर्ने गरी जन्ममिति एकिन गरिने ।

सेवा निबृत्त भएको कति अवधि पछि १० प्रतिशत औषधी उपचार सुविधा प्राप्त गर्न सकिन्छ ?

सेवा निबृत्त भएका कर्मचारीहरु ७५ र ८५ बर्ष पुगी सकेपछि १०/१० प्रतिशतका दरले पाईरहेको उपदानमा बृद्धि हन्छ । यो सुबिधा निजामती किताबखानाले पेन्सन पट्टामा खुलाएपछि पाइन्छ ।

सेवा निबृत्त कर्मचारीहरुले ईच्छाएको व्यक्तिको नाम परिबर्तन गर्न के कस्ता कागजात पेश गर्न पर्नेछ ?

सेवा निबृत्त भएका कर्मचारीहरुको ईच्छाएको व्यक्तिको नाम परिबर्तन गर्न परेमा पहिले ईच्छाएको व्यक्तिको मृत्यू भएमा सो को प्रमाणपत्र, नया इच्छाउने व्यक्ति संगको विवाहदर्ता प्रमाण पत्र तथा नाता खुलेको प्रमाण पत्र (Relationship Certificate) आदि कागजात पेश गर्न पर्छ ।

सेवा निबृत्त कर्मचारीहरुको पट्टा सकिएमा वा हराएमा नयाँ पट्टा कहाँवाट बनाईन्छ ?

सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालयबाट बनाईन्छ ।

पेन्सनपट्टा संशोधन गर्नपरेमा के गर्ने ?

के विषयमा संशोधन गर्नपर्ने हो सो खुलाई निबदेन दिने र संशोधन गर्न पर्ने पट्टा साथै लिई निजामती किताबखानामा उपस्थित हुने ।

सेवा निवृत्त कर्मचारीको मृत्यु पश्चात् पारिवारिक निवृत्तभरण बनाउन के गर्नु पर्छ ?

मृत्यु दर्ताको प्रमाणपत्र, नाता प्रमाणित प्रमाणपत्र र नागरिकताको प्रमाणपत्र सहित सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालयमा निवेदन दिर्इ पारिवारिक निवृत्तभरण बनाउन सकिनेछ ।

2017-02-16 12:29:27

यात्रा सङ्ख्या

9 5 2 9 3 6