No Image

सामान्य प्रशासन मन्त्रालयको विभागको रूपमा रहेको निजामती किताबखाना सम्पूर्ण निजामती कर्मचारीहरूको व्यक्तिगत विवरण राख्ने केन्द्रीय निकाय हो । यसले नीति निर्माताहरूलाई कर्मचारी सम्बन्धी आवश्यक विवरण एवं तथ्याङ्क उपलब्ध गराउनुका साथै सेवाबाट अलग भएका कर्मचारीहरूलाई निबृत्तभरण, उपदान, पारिवारिक निबृत्तभरण, असाधारण पारिवारिक बृत्ति, शैक्षिक भत्ता तथा सन्ततिबृत्ति जस्ता सुविधाहरू प्रदान गर्ने कार्यमा प्रमुख भूमिका निर्वाह गर्दछ ।

वि.सं. १९०३ मा नेपालमा राणाशासनको शुरूवात भएपछि पजनी हुने कर्मचारीहरूको लगत राख्न एकजना कर्मचारी व्यवस्था गरिएको थियो । त्यसैलाई निरन्तरता दिंदै निजामती , जंगी, प्रहरी र मिलिसिया कर्मचारीहरूको लगत व्यवस्थित रूपमा राख्ने प्रयोजनको लागि वि.सं. १९०५ मा "मुलुकी किताबखाना" को रूपमा यस कार्यालयको स्थापना भएको पाइन्छ । वि.सं. १९३३ मा "कमाण्डर्रर् इन चिफ" को मातहतमा रहने गरी मुलुकी किताबखानालाई "कमाण्डरी किताबखाना" मा परिणत गरियो जसले तत्कालीन समयमा नयाँ भर्ना हुने कर्मचारीलाई प्रधानमन्त्री र चिफ साहेवको दर्शन गराउने तथा त्यसपछि कर्मचारीको नाम दर्ता गर्ने कार्य गर्दथ्यो । वि.सं. १९९७ पछि सेवानिबृत्त कर्मचारीहरूलाई निबृत्तभरण (पेन्सन) दिने व्यवस्था लागू भएपछि कर्मचारीको वैयक्तिक विवरण फारम (सिटरोल) भर्राई राख्न शुरू गरिएको पाइन्छ । वि.सं. २००९ सालसम्म शाही नेपाली सेना र २०३५ साल सम्म नेपाल प्रहरी कर्मचारीको समेत अभिलेख राख्दै आएको यस कार्यालयले हाल निजामती तर्फा कर्मचारीहरूको अभिलेख राख्ने कार्य गर्दै आएको छ । २००७ सालसम्म कमाण्डर इन चिफको मातहतमा रहेको यो कार्यालय २००८ साल पछि गृह मन्त्रालय, मन्त्री परिषद सचिवालय, प्रशासन व्यवस्था विभाग अर्न्तर्गत रहँदै हाल सामान्य प्रशासन मन्त्रालय अर्न्तर्गतको एकमात्र विभागको रूपमा रहेको छ । २०२२ सालदेखि निजामती किताबखानाको रूपमा नामाकरण भएको अभिलेखबाट देखिन्छ । यस निजामती किताबखानाले निजामती तर्फका सम्पूर्ण सरकारी निकायहरूको अभिलेख राख्नुको साथै त्यहाँ रहने दरवन्दी एवं कर्मचारीहरूको अभिलेख अद्यावधिक रूपमा राख्दै आएको छ । यसका अतिरिक्त भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० बमोजिम कर्मचारीहरूको सम्पत्ति विवरण व्यवस्थित रूपमा राख्नु यसको अर्को महत्वपूर्ण जिम्मेवारी थप भएको छ ।

हालैका दिनहरूमा यस विभागले आफ्ना सेवाग्राहीहरूलाई समयमै सेवा प्रदान गर्न विभिन्न नतिजामूलक कार्यहरूको थालनी गरेको छ । सूचनाको क्षेत्रमा देखापरेको परिवर्तनसँगै विभागले गरेको यस कार्यबाट सरकारका सबै संगठन, कर्मचारी र यस क्षेत्रमा चासो राख्ने सबैको लागि सघाउ पुर्‍याउदै आएको छ ।

2016-08-09 16:24:42

यात्रा सङ्ख्या

7 4 9 2 7 9